रास्वपाद्वारा स्थानीय चुनावको तयारी तीव्रः उम्मेदवार छनोट रूपरेखा पारित, पदाधिकारी र विभागीय प्रमुख तोकिए « Tikho Kalam
Advertisement
रास्वपाद्वारा स्थानीय चुनावको तयारी तीव्रः उम्मेदवार छनोट रूपरेखा पारित, पदाधिकारी र विभागीय प्रमुख तोकिए – Tikho Kalam

रास्वपाद्वारा स्थानीय चुनावको तयारी तीव्रः उम्मेदवार छनोट रूपरेखा पारित, पदाधिकारी र विभागीय प्रमुख तोकिए

२०८३ भाद्र ५
तीखोकलम

Share Buttons Area

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक गतिविधि र चुनावी तयारीलाई तीव्र बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्नुका साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने र पार्टीका विभिन्न रिक्त पदहरूमा मनोनयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, बैठकले आगामी स्थानीय निर्वाचनका लागि तयार पारिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई प्राप्त सुझावहरू समेटेर अनुमोदन गरेको छ । यसैगरी, केन्द्रीय उम्मेदवार छनोट समितिमा रहन इच्छुक केन्द्रीय सदस्य तथा सांसदहरूबाट नामावली माग गर्ने निर्णय पनि पार्टीले गरेको छ । उम्मेदवार छनोट रूपरेखा र निर्वाचन सम्बन्धी विषयमा अभिमुखीकरण गर्न पार्टीले केन्द्रीय सदस्य र सांसदहरूलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ । यस अभियानको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।

यसैबीच, रास्वपाले आफ्ना जनप्रतिनिधिले सन्तोषजनक काम नगरे फिर्ता बोलाउन पाउने लोकतान्त्रिक अभ्यास ‘राइट टु रिकल’ लाई नीतिगत रूपमै अगाडि बढाउने भएको छ । यसका लागि विस्तृत दस्ताबेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै, मधेस प्रदेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नुअघि साङ्गठनिक अवस्थाको मूल्याङ्कन (अडिट) गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सो समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय सदस्यहरू मात्र रहने व्यवस्था गरिएको छ । पार्टीले आफ्ना गतिविधि र विचार प्रवाह गर्न आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरेको छ ।

पार्टीको साङ्गठनिक संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय समितिले पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुखहरूको मनोनयन गरेको छ । पार्टीको सह–महामन्त्रीमा पुरुषोतम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनयन गरिएको छ । त्यसैगरी, प्रवक्ताको जिम्मेवारी ललितपुरका सांसद जगदीश खरेलले पाएका छन् भने सह–प्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरी चयन भएका छन् । बैठकले पूर्वाधारमन्त्री सुनील लम्साल, गृहमन्त्री सुधन गुरुङ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, लगायत ९ जनालाई नयाँ केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको छ ।

बैठकले महत्त्वपूर्ण विभागहरूको नेतृत्व पनि तोकेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी चयन भएका छन्। अर्थ विभागको नेतृत्व लिमा अधिकारी आचार्यले पाएकी छन् भने प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ ।

यस्तै, बैठकले गणेश पराजुली, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, समिक्षा बास्कोटा लगायत १३ जनालाई पार्टी सचिवालय सदस्यमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार