‘रोड टु एभरेस्ट’ डकुमेन्ट्रीको ग्रान्ड प्रिमियर

काठमाडौं । वी विल राइज फाउन्डेसन (WWRF) ले नेपालको हिमाली गौरव र एभरेस्ट यात्रालाई समेटिएको डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ग्रान्ड प्रिमियर गरेको छ ।
शनिबार, छायाँदेवी कम्प्लेक्स, ठमेलमा डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ग्रान्ड प्रिमियर गरेको हो ।
समुद्री सतहदेखि सगरमाथा शिखरसम्मका यात्रको कथा डकुमेन्ट्रीमा आधारित छ । निर्माताले उक्त डकुमेन्ट्रीमा सगरमाथा आरोहणको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनले त्यहाँ पारेको असर र प्रभावको कथा समेटेमा छन् ।
हङकङमा बस्दै आएका ५० वर्ष नाघेका राज गुरुङको उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई डकुमेन्ट्रीले प्रस्तुत गरेको छ ।
निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको डकुमेन्ट्रीमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिएका छन् । फुर्वाले १८ र निमाले विश्वकै १४ अग्लो हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको यस डकुमेन्ट्रीको कथा सञ्चारकर्मी सन्तोष आचार्य र संचारकर्मी समेत रहेका निर्देशक श्रेष्ठले लेखेका हुन् । भूषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा बनेको छ ।
